Today's Highlights

Fun & Fashion

International

Latest Updates

Showing posts with label Entertainment.. Show all posts
Showing posts with label Entertainment.. Show all posts

'सौम्य'गायिका :आभा मुकारुङ

5:37 AM
•
गायिका आभा मुकारुङ आधुनिक गीति एल्बम 'सौम्य' लिएरश्रोता माझ आएकी छन्। केही वर्षअघि 'आभा'मार्फत दर्शक / श्रोतामाझ आएकी आभाले हालै नयाँ एल्बम बजारमा ल्याएकी हुन्। 
उनले नयाँ एल्बममा अग्रज देखि नयाँ गीतकार तथा संगीतकारका १४ वटा सिर्जनालाई समेटेकी छन्। 'आभा'मा संग्रहित 'कता हिँडेको कसलाई खोजेको' बोलको गीतबाट चर्चा कमाएपछि कन्सर्टहरुमा व्यस्त देखिएकी उनले 'सौम्य'लाई आफूले कलेक्सन एल्बमका रुपमा बजारमा ल्याएको उनले सुनाइन्। 
सृष्टि इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त एल्बममा भूपाल राई, श्रवण मुकारुङ, मञ्जुल, आरजु विष्ट सल्यानी, ईश्वर चाम्लिङ, जितेन्द्र चेम्जोङ, करुणा राई, राम बस्नेत, किशोर थापा, शिमुरा, पवित्र बान्तवा र गोमा चुँडाल 'भूगोल'का शब्दहरुमा गणेश रसिक, राजु सिंह, पविधन खालिङ, डक्टर किरात, हेमन्त चेम्जोङ, पदम थापा मगर, श्रृजन नेपाल र शान्तमान राईले संगीत भरेका छन्। कवि तथा गीतकारद्वय भूपाल राई र श्रवण मुकारुङले आफ्ना शब्दहरुमा आफैं संगीत भरेका छन्।

धरानमा कलाकारहरु अलपत्र

4:43 AM
•
‘राष्ट्रिय चलचित्र महोत्सव’को उद्घाटनमा भोको पेटमै भएपनि नाचेका नेपाली सिनेमाका कलाकारले खासै दुखेसो पोखेका थिएनन् । दर्शकलाई भोको पेटमै भएपनि नृत्य देखाउन पाउँदा कलाकारहरु खुशी देखिएका थिए । तर त्यो खुशी लामो समयसम्म टिक्न सकेन । कार्यक्रम नसकिदै आयोजकले ३ वटै गाडी लिएर हिडेपछि अन्तिममा आफ्नो प्रस्तुती दिने कलाकारहरु अलपत्र परेका थिए ।

बेलुकी ७ बजेपश्चात धरानको स्विमिङ पुलमा खानाको व्यवस्था गरिएको थियो । धरान पुगेका १०० भन्दा बढि चलचित्रकर्मी र पत्रकार त्यहाँ खाना खान पुगेका थिए । तर खाना खान लागेका नायिकाहरुलाई आयोजकले तपाइहरुको लागि छुट्टै व्यवस्था छ भन्दै गाडीमा चढाएको थियो ।
गाडीमा चढ्दै गर्दा धेरै नायिकालाई कहाँ र किन लग्न थालियो भन्नै नै पत्तो थिएन । उनीहरु मध्ये कसैलाई टाउको दुखेको थियो त कसैलाई भोक लागिरहेको थियो । कलाकारहरुलाई लाने र लैजाने जिम्मा पाएका प्रकाश सुवेदीले अचानक ‘खाना छोड, गाडीमा चढ’ भन्दै लगेको एक नायिकाले बताइन् ।
स्विमिङ पुलबाट अघि बढेको गाडी कता हुँइकियो कसैलाई पनि पत्तो थिएन । तर अचानक बिच बाटोबाट नायिका रेखा थापा र प्रकाश सुवेदी ओर्लिएका थिए । स्विमिङ पुलबाट खाना नखाई आफू बसेको होटलतर्फ जान लागेका १५ जना निर्माताहरुले गाडी देखेपछि रोक्न भनेका थिए । तर गाडी रोकिएन, अघि बढ्यो ।
एक नायिकाले आफू कतै नजाने, होटलमा लैदिन बारम्बार आग्रह गर्दा पनि अनाकन्टर बाटोमा गाडी कुदाइएको बताइन् । उनीहरुलाई दन्तकाली रोड भन्दा धेरै माथी रहेको ‘पञ्चकन्या रिसोर्ट’मा पुर्‍याइएको थियो ।
पञ्चकन्या रिसोर्टमा इटहरी सैनिक क्याम्पबाट आएका केही कर्नेल र जर्नेलहरुले पार्टी दिएका रहेछन् । यसको संयोजन चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेले गरेका थिए ।
एक चलचित्रकर्मी भन्छन्, ‘पार्टी नै दिने भए किन काठमाण्डौबाट गएका सबै कलाकारलाई दिइएन, केही नायिका र नायकलाई मात्र किन दिइयो त ?’ त्यहाँ नायिकाहरुलाई कर्नेल र जर्नेलसँग परिचय गराइयो । यसपश्चात सुरु भयो मदिरा पार्टी ।
मदिरा पार्टीमा पुगेका नायिका अनु शाह, सुष्मा कार्की, अशिष्मा नकर्मी, सुस्मिता कार्की चाडै नै निस्किएका थिए । मदिरा पार्टीमा सहभागी एक नायिकाले ‘आफूलाई टाउको दुखेर जान्न’ भन्दा पनि सुख नपाएको बताइन् । यस्तै केही नायिकाहरुले आफूहरुलाई सो बीजको रुपमा प्रयोग गरिएको गुनासो पनि गरेका छन् ।
कर्नेलहरुले दिएको पार्टीमा नायक भुवन केसी, राजवल्लभ कोइराला, स्वेता खड्का, झरना थापा, श्रीकृष्ण श्रेष्ठ, निता ढुंगाना, आकाश अधिकारी सुनिल कुमार थापा, गायक शिव परियार पनि सहभागी थिए । नायिका निशा अधिकारी भने केही समय बसेर फर्किएको बताइएको छ । उक्त पार्टीमा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’, नायिकाद्धय रेखा थापा, सुमिना घिमिरे, व्यवस्थापनको जिम्मा लिएका प्रकाश सुवेदी देखिएका थिएनन् । मध्यरात सम्म चलेको उक्त पार्टी पश्चात कलाकारहरु आ आफ्नै होटलमा फर्किएको बताइएको छ ।
खाना खादै गरेका नायिकाहरुलाई मात्र जर्बजस्ती छुट्टै स्थानमा पार्टी छ भन्दै किन लगियो ? के नायिकाहरु सो बिजका लागि मात्र प्रयोग गर्ने पात्र हुन् ? धरानको अग्लो र सुनसान स्थानमा रहेको पञ्चकन्या रिसोर्टमा पार्टी चलिरहदा महोत्सवका लागि गएका निर्माताहरु भने आफैले रकम तिरेर होटलमा खाना खाइरहेका थिए । अत्यन्त अस्तव्यस्त र भद्रगोल तबरले आयोजना भएको चलचित्र बिकास बोर्डको ‘राष्ट्रिय चलचित्र महोत्सव’ नाम दिइएको कार्यक्रम पूर्ण रुपमा असफल भएको टिप्पणी बजारमा चलेको छ ।

कुतकुती लगाउने फस्ट लभ

4:00 AM
•
‘तिमी त मेरो आइडियल गर्ल थियौ नि !’
फेसबुकको च्याट बक्समा यसो लेखेर पठाउने उही हो, जो मेरो प्रथम आइडियल बोई थियो । तर मैले लेखिनँ, ऊ पनि मेरो आइडियल थियो । मैले लेखिनँ, ट्युसन क्लासमा पहिलो पटक देख्दादेखि नै ऊ मेरो आइडियल बनेको थियो । मैले लेखिनँ, बिर्सन खोज्दा कति पटक सम्झेँ उसलाई । मैले लेखिनँ, उसको यादको डुबान र उडानमा आफैंलाई नि बिर्सिएँ कति पटक । लेखिनँ यी सबै ।
‘तिमी कहाँ हरायौ ? किन बोल्न छोड्यौ ? ए, बिन्दास लेडी,’ उसले फेरि सोध्यो ।
‘मख्ख परेर बसेको नि !’ मैले गफ लगाएँ ।
‘किन मख्ख ?’
‘थाहै नपाई कसैको आइडियल बन्न पाउनु चानचुने कुरा हो ?’
‘बाहुनी, धेरै नाक नफुलाऊ ।’
म जिस्किएझैं मानेर होला उसले त्यसै गरी भन्यो जसरी पहिले भन्थ्यो । उसको बोली फेरिएको रैनछ ऊप्रति मेरो भावना फेरिएजस्तो ।
‘तिमी त उस्तै रैछौ,’ मैले भनेँ ।
‘तिमी पो बाठी भैछौ ।’
‘म लाटी थिएँ त ?’
‘सोझी थियौ । तर बिन्दास थियौ । अरुलाई पढाइको कत्रो चिन्ता थियो । तिमीलाई भने फिक्री नै थिएन ।’
‘हेहेहे ।’
‘हामी हिसाब नआएर रन्थनिँदा तिमी अरुलाई जिस्काएर बस्थ्यौ ।’
‘फिक्री गरेर पढ्न आउने हो र ?’ मैले फेरि गफ दिएँ । ‘इन्ट्रेस्ट भएको विषयमा को जिस्केर बस्दो हो ?’
‘इन्ट्रेस्ट नभएको मान्छेले किन अप्सनल म्याथ लिएको नि ?’ उसले भन्यो । ‘तिमलाई हिसाब नआको देखेर त... ।’ उसले वाक्य अधुरै छोड्यो मेरो प्रेमझैं ।
मलाई त हिसाब भन्दा पिसाब आउँथ्यो । सोधेँ उसलाई, ‘मलाई हिसाब नआको देखेर तिमलाई के हुन्थ्यो ?’
‘हाँसो लाग्थ्यो । यस्ती लद्दुले किन अप्सनल म्याथ लिएको होला जस्तो लाग्थ्यो ।’
‘ए, ए । हिसाब त मलाई अझ पनि आउँदैन र त्यसको फिक्री अहिले पनि छैन मलाई ।’
‘तिमी आज पनि उस्तै बिन्दास देखिन्छौ,’ उसले भन्यो ।
‘कहाँ देख्यौ ?’
‘फेसबुक फोटो र स्टाटसहरुमा ।’
‘ए, हिसाब–किताब नगरी बिन्दास हुन पाए को हुँदैन ?’
‘तिमीसँग बोलेर को सक्ला ?’
‘तिमी सक्दैनौ र ?’
‘अहँ ।’
‘त्यसो भए बाई ।’
‘किन रिसाको ?
म रिसाको थिइनँ । उसले के गर्दो रहेछ भनेर केही नभनीकन घुर्की लाएझैं गरी एकछिन त्यत्तिकै बसिरहेँ। ऊ रिसाएछ क्यारे, च्याटबाट हिँडेछ, मलाई विगत सम्झन बाध्य बनाएर ।...
ट्युसन क्लासको पहिलो दिन । निलो टिसर्ट लगाएको उसलाई सरले ब्ल्याकबोर्डमा हिसाब गर्न लगाउनुभयो । उसले हिसाब गरेर देखायो । सर प्रसन्न । उसलाई धाप मार्दै भन्नुभयो, ‘राम्रो ।’
त्यहीँदेखि ऊ मेरो आइडियल भएको थियो  ।

उसलाई मैले त्यसभन्दा अघि पनि देखेकी थिएँ । दोबाटोमा हाम्रो भेट भएको थियो धेरै पटक । तर म उसलाई वास्ता गर्दैनथेँ । त्यो दिनदेखि भने वास्ता गर्ने भएकी थिएँ । मलाई ट्युसन क्लास कति खेर पुगौंझैं हुन्थ्यो । मनको क्यानभासमा कुन्नि कस्तो रंग पोतियो, म त्यसैको मोहनीमा हराउन थालेँ ।
हुन त क्लासमा अरु पनि थिए जान्ने केटाहरु । उनीहरु घमण्डले फुलेका हुन्थे, अझ केटीहरुलाई त मान्छे नै गन्दैनथे । तर ऊ भने असल थियो । मै जान्ने हुँ भन्ने भावना थिएन उसमा ।
क्लासमा खुब जान्ने पल्टिने केटो थियो । संसारभरको हिसाब आफैंलाई आउँछझैं गर्ने । सरसँग डिस्कस गरेर कहिल्यै नथाक्ने । एक दिन मेरो आइडियलले थर्काइदियो, ‘ओए बाहुन, कति जान्ने हुन्छस् ? अरुलाई नि बोल्न दे न ।’
त्यो दिनदेखि बाहुन चुप । यता मेरो ढुकढुकी दिनदिनै बढ्न थाल्यो । म आफैंले मेसो पाएकी थिइनँ, किन त्यस्तो हुन्छ । मेरो ट्युसन क्लास संसारभरमा रमाइलो थियो, किनभने ऊ थियो । उसलाई म्याथमा इन्ट्रेस्ट थियो, मलाई उसमा ।
म झन् केटाकेटी जस्तै बनेकी थिएँ । चकचके र चञ्चल । किनकिन साना साना नानीझैं खेल्न मन लाग्थ्यो । मेरो आइडियलको ध्यान मैतिर होस्जस्तो लाग्थ्यो । हरे ! फेरि लाज पनि लाग्थ्यो ।
एक दिन साथीसँग एउटा खुट्टाले टेकेर आफैंले फालेको गोटी छुने खेल नरिवल खेल्दै थिएँ । गोटी फालेर एउटा खुट्टा उचालिसकेकी के थिएँ उसलाई देखेँ । दुइटा खुट्टाले टेक्दा त उसलाई देखेपछि मुटु हल्लिन्थ्यो, भुइँचालो नै आएजस्तो भयो । म त ढिलपिल ढिलपिल भएँ । कतिखेर दुई खुट्टा टेकेछु, पत्तै भएन । म आउट भएँ ।
ऊ नजिक आयो र जिस्कायो, ‘यो बाहुनीलाई लाज पनि लाग्दैन । बूढी भैसकेको पत्तो छैन, जामा उचालेर एकखुट्टे खेल्छे ।’ 
म पानीपानी भएँ ।
अरु केटाहरुले पहिल्यै जिस्काएका थिए उनीहरुलाई मैले नै थर्काएर चुप बनाएकी थिएँ, उनीहरुले खुच्चिङ गरे । त्यसपछि मैले कहिल्यै एकखुट्टे खेलिनँ ।
त्यसै बेला हो, एक्लैएक्लै बस्न थालेको पनि । त्यसै बेला हो, हरियो पाखाभरि गीत गाउँदै घाँस काट्न मन लागेको । पराईलाई आफ्नो देख्न थालेको पनि त्यसै बेला हो । पहिला कहिल्यै नौलो नलागेको संसार रहस्यमय लाग्न थालेको पनि त्यही बेला हो । एक्लैएक्लै लाज मान्न र हाँस्न थालेको पनि त्यही बेला हो । ऐना अगाडि घन्टौं बस्ने बानी लागेको पनि त्यही बेला हो । र, आफ्नो ढुकढुकीमा अरुको नाम सुन्न थालेको पनि त्यही बेला हो ।
अनुभूतिको रंगीन छाया थियो ऊ । त्यही छायाको मायामा म फसेकी थिएँ, पत्तै नपाई । त्यसैले रमाइलो थियो मेरो मनको संसार । तर सधैं होइन । कहिलेकाहीँ कताकता अनौठो पीडा हुन्थ्यो, छालाभित्रको कमलो मासु घोचिँदाखेरिको जस्तो । छातीभित्र कतै दुख्थ्यो तर कहाँनिर, मलाई थाहा थिएन ।
म क्लासभित्र पस्दा पहिलो पटक आँखा उसैलाई खोज्थे । उसलाई देखिनँ भने म झ्यालतिर गएर बस्थेँ । झ्यालबाट उसको घर र आउने बाटो पूरै देखिन्थ्यो । त्यहाँबाट पनि उसलाई देखिनँ भने कुन्नि कुन ठाउँमा दुख्थ्यो भित्र–भित्र ।
उसको स्कुलमा पढ्ने भाइहरु थिए हाम्रो गाउँमा । उनीहरुका कुरा चाख मानेर सुन्ने भएकी थिएँ म, उसका कुरा पो गर्छन् कि भनेर । हाँसो लाग्छ अहिले त्यो कुरा सम्झँदा ।
एक दिन एकजना भाइले उसको स्कुलको कुरा गर्दा ऊ भलिबल खेल्न च्याम्पियन छ भनेको थियो । म ऊसँग सम्बन्धित अरु प्रश्न पनि जान्न चाहन्थेँ, जस्तो मेरो आइडियल के गथ्र्यो ? उसलाई के मन पर्छ के मन पर्दैन ? आदि, इत्यादि । त्यसैले म घुमाई–घुमाई मेरो आइडियलबारे प्रश्न गर्थें । तर भाइ कुरा अन्तै मोड्थ्यो, दिक्क लाग्थ्यो । मेरो अन्तरमा कसैका बारे यति गहिरो उत्सुकता जिन्दगीमै पहिलो पल्ट पलाएको थियो । उसलाई जतिखेरै पनि हेर्न मन लाग्थ्यो । उसबारे सुन्न मन लाग्थ्यो । खाना खाँदाखाँदै टोलाउथेँ । कुचो लाउँदा लाउँदै र घाँस काट्दाकाट्दै हराउँथेँ म । सम्हालिन गाह्रो हुन्थ्यो । अरुसँग सत्य बोल्न झन् कति हो कति गाह्रो ।
...
अप्सनल म्याथ पढाउने सर कडा हुनुहुन्नथ्यो, त्यसैले हल्ला गरेर बस्थ्यौं । मेरो आइडियलको एउटा साथी थियो अति नै चालु । मेरी दुइटी साथीलाई एकैसाथ साइड मारेर बस्थ्यो । हाम्रो बेन्चपछि एउटा खाली बेन्च हुन्थ्यो त्यसमा चालु केटा आएर बस्थ्यो र मेरा साथीलाई काउकुती लगाउँथ्यो । एक दिन त्यो केटा आएन र बेन्च खाली नै भयो । खाली बेन्च पछाडिको बेन्चमा मेरो आइडियल र अरु केटा बसेका रैछन् ।  खाली बेन्चमा अडेस लागेको त बेन्च ढल्किन्छ, फेरि फेरि । मैले मेरो आइडियललाई नै आँखा तरेँ । रिसै त उठेको थिएन ।
‘मलाई थाहा थियो यो बाहुनीले मैलाई हेर्छे,’ उसले भन्यो ।
‘के गरेको ?’ म रिसाएजस्तो गरेँ ।
अरुले पो रैछ । म उनीहरुसँग रिसाएँ । उसले फेरि भन्यो, ‘अरुले जे गरे नि मैलाई हेर्छे ।’
मलाई हाँसो लाग्यो र कताकता पछुतो पनि । तैपनि भनेँ, ‘हेर्नै नहुने भए आफ्नो अनार मधुसमा लुकार आऊ ।’
‘कति मुख फर्काउन आको हो यो बाहुनीलाई !’ उसले यत्ति भन्यो ।
मैले उसलाई त्यति धेरै हेर्दी रैछु ? अचाक्ली लाज लाग्यो मलाई । लाज र पछुतोको यति गहिरो अनुभूति पनि पहिलो पटक त्यही बेला भयो ।
...
‘म तिमलाई हिसाब सिकाइदिन्थेँ, तिमले मलाई कति राम्रा–राम्रा पेन दिन्थ्यौ । थाहा छ ? तिमले दिएका पेन पोखरा आउँदासम्म पनि मैले जोगाएर राखेको थिएँ ।’ एकदिन उसले च्याटमा भनेको थियो । यो कुरा त मैले बिर्सिसकेकी थिएँ ।
नयाँ–नयाँ पेन किन्न मलाई गाह्रो थिएन । बुवा र आमाले आफ्ना लागि किनेका कलम पनि मैले नै हिँडाउथेँ । त्यसैले मसँग त्यो बेला भर्खरै बजारमा आएका सेलो जेल पेन हुन्थे— निला, काला, राता, हरिया पाइने जति रङका । तर मलाई रंगाउने रंग त ऊ थियो । मलाई खुसी बनाउने र दुःखी बनाउने के थियो ऊसँग ? 
‘तिमीलाई केहीको फिक्री थिएन,’ उसले भन्यो । तर थियो, उसको ।
कक्षामा जहिल्यै ऊ मेरो पक्षमा बोल्थ्यो । एकदिन मेरी साथीले मलाई भनी, ‘उसले तँलाई मन पराउँछ ।’
मेरो मन भरिलो भयो भावनाले, जोडसँग धड्किन थाल्यो मुटु । तर मैले पनि उसलाई मन पराउँछु कसरी भन्न सक्थेँ र ! भनेँ, ‘इस् ! कसरी थाहा पाइस् ? त्यसले मन पराए पराओस्, मलाई के मतलब !’
साथीलाई त यस्तो भनेँ । तर मन आत्मसन्तोषले भरियो । अरुलाई बाँड्न नसक्ने आत्मसन्तोष पनि कति मीठो हुँदो रहेछ, त्यही बेला महसुस भयो ।
मैले पनि त उसलाई सधैं सम्झन्थेँ । उसलाई त म पारि डाँडामा देखे पनि चिन्थेँ । सायद उसको छाया पनि चिन्थेँ होला ।
पारि देखिने घर उसको हो भन्ने थाहा पाएपछि मेरा आँखाको ठेगाना पनि त्यतै सरेको थियो । मेरो घरको आँटीको पल्लो कुनाबाट उसको घर देखिन्थ्यो । त्यहाँ बसेर घन्टौं उसको घर हेर्थें । वनमा दाउरा लिन जाँदा सिरपाटाबाट तल उसको घर देखिन्थ्यो । मेरा आँखा उसैको घरमा गएर ठोकिन्थे । केही हल्का हुन्थ्यो, दाउरा बोक्दाको थकाइ पनि मेटिन्थ्यो । उसको घर वरिपरि देखिने हर आकृति मलाई आफ्नो लाग्थ्यो । घरबाहिर कोही देखियो भने म ठम्याएर हेर्थें, ‘उही पो हो कि ?’
उसको फिक्री गर्दागर्दै एसएलसी सकियो । सुनेँ, ऊ त गाउँ छोडेर गयो अरे पोखरा । मेरो मनको चंगा ओस्सिएर झर्‍यो । हल्लियो मेरो धरती । मेरो आँखाको ठेगानामा कुनै जादु थिएन । बस्, उदासी । 
ऊ गयो पोखरा साइन्स पढ्ने तयारी कक्षा लिन । मेरो मुटु उफ्रिन थाल्यो । अकस्मात बिरानो लाग्यो संसार । मलाई मन परेका हर चिज फिक्का लाग्न थाले । आफ्नै ठाउँ, आफ्नै घर उराठलाग्दो लाग्न थाल्यो । ओहो ! कहाँ जाऊँ ? कसलाई भनूँ ? छातीभित्र मडारिएको तुफान बाँड्न सक्ने मेरो कोही थिएन । डर लाग्थ्यो, एक्लैएक्लै कोही केटोलाई सम्झिन्छु भन्दा अरुले के सोच्लान् ! इज्जतै जाने भयो भन्ने कुराले काम्थेँ भित्रभित्रै फेरि । तनाव, उदासी र डरको त्यो आँधीमय अनुभूति एक्लै कसरी सामना गरेँ होला, सोच्दा अचम्म लाग्छ ।
एसएलसीपछिको फुर्सदमा मैले किताब पढ्न थालेँ । कम्युनिस्ट आन्दोलनबारे लेखिएका उपन्यास मनपथ्र्यो मलाई । मैले पढ्ने उपन्यासको नायकमा पनि उसको छवि देख्थेँ । उपन्यासमा प्रेममा परेका नायक–नायिकाका अनुभूति पढ्दा थाहा भयो, मेरो पनि आइडियलसँग प्रेम परेको रैछ । अनौठो लाग्न नपाउँदै सम्झिएँ, प्रेम परेपछि उसैसँग बिहे गर्नुपर्छ । हो त नि मैले किन सम्झेको होला ! मलाई डर लाग्न पो थाल्यो । न म उसलाई बिर्सिन सक्थेँ, न उसलाई छुट्याएर भविष्यको कल्पना गर्न । म साह्रै आत्तिएँ । उसको र मेरो बिहे कसरी हुन सक्छ ? मगर केटोसँग मलाई बिहे गर्न कस्ले दिन्छ ! मेरो अन्तर काम्न थालेको थियो । धेरै दिन म यस्तै तनाव लिएर बसेँ । एक दिन मनले आफैं भन्यो, ‘कसैले ऊसँग बिहे गर्देनन् भने भाग्नुपर्ला ।’
तर आइडियलले के भन्ने हो, पत्तो थिएन । म भने एक्लै यता भाग्ने योजना बनाइरहेकी थिएँ ।  
...
एसएलसी पास भएपछि म काठमाडौं आएँ । मेरो मन भने उसको सहरमा डुल्न थाल्यो ।
जाडो बिदामा घर गएँ, ऊ भेटिन्छ भन्ने आस लिएर । तर ऊ आएको रहेनछ ।
माघे संक्रान्ति मेलामा त आउला ? सहरबाट आउने बाटोमा मैले आफ्ना आँखा ओछ्याएर राखेकी थिएँ ।
माघे संक्रान्तिको दिन । स्कुलमा मेला थियो । भलिबल प्रतियोगिता चलिरहेको थियो । मान्छेहरुको भीड छिचोल्दै म स्टेजनिर गएर हेर्न थालेँ । उसका भाइ, बहिनी, बा, आमा सबैलाई देखेँ, तर उसलाई देखिनँ । तर मेरो मनले भनिसकेको थियो, ऊ आएको छ । एक्कासि उसलाई मतिरै आउन लागेको देखेँ । मुटु ढक्क फुल्यो । यति जोडसँग बज्न थाल्यो कि संसारमा मेरो मुटुको आवाज जति ठूलो केही छैन होलाजस्तो लाग्यो । निधारमा चिटचिट पसिना आए । उसले हाँस्दै मलाई बोलायो । मलाई याद छैन म हाँसेँ कि हाँसिनँ ? उसले सोध्यो, ‘कति दिन भयो आएको ?’
‘१५ दिन ।’
‘कति दिन छ बिदा ?’
‘अझै १५ दिन ।’
‘कति धेरै बिदा ! हाम्रो त भोलि क्लास सुरू हुन्छ । आजै जाने हो ।’
‘हो र ?’ मैले यति नै भन्न सकेँ ।
उसैले सोध्यो, ‘तिमले कहाँ, कुन विषय पढ्दैछौ ?’
‘आरआर क्याम्पसमा पढ्दैछु, पत्रकारिता ।’
‘ए ! राम्रो विषय पढिछौ । राम्ररी पढ्नू, यहाँ जस्तो ठगठाग गरौला, हेहेहे ।’
उसका आँखामा हेर्न त सकेकी थिइनँ, बोल्ने कुरै भएन ।
‘पोखरा आजै जाने हो, लौ म त गएँ,’ उसले भन्यो । अनि ऊ हिँड्यो मेरो मुटुको धड्कन लिएर ।
आँखा ऊ गएतिरै दौडिए । ऊ जान्छ भन्ने चिन्ताले उदास भएँ । अघि राम्रोसँग नबोलेकामा पछुतो पनि भयो, तर म कसरी बोल्न सक्थेँ ? मुटु फुलेर सासै रोकिएला जस्तो त भएको थियो । ऊ गएपछि मलाई मेलाको रमाइलोले बाँध्न सकेन । मेरो मन त उसैसँग हिँड्यो । म भीडबाट निस्किएँ, साथीहरुलाई घर गएर आउँछु भनेर ।
सेरा बजारको छेउमै देखेँ उसलाई । मैले सोचेकै ठाउँमा । तर उसलाई नदेखेझैं गरेर हिँडेँ !
‘ओए,’ ऊ करायो, ‘पख न ।’
म फर्किएँ । ऊ नजिकै आएपछि मैले भनेँ, ‘जान लाग्यौ ?’
‘तिमी किन मेला हेर्न छोडेर हिँडेको ?’ उसले सोध्यो ।
‘सञ्चो नहोलाजस्तो भयो ।’
‘ए, आराम गर गएर । काठमाडौं गएपछि त हामलाई बिर्सिन्छौ तिमले ।’
म केही बोलिनँ । जहाँ गए नि तिमलाई बाहेक कसैलाई सम्झिन्न भन्न नमिलेपछि के बोल्नु त ?
‘फोन छैन तिम्रो ?’ उसले सोध्यो ।
‘छैन । तिम्रो छ फोन ?’ छन त अंकलको फोन थियो ।
उसले नम्बर भन्यो र थप्यो, ‘फोन गरेर मलाई बोलाइदिन लगाउनू ।’
कलम थिएन साथमा, नम्बर मनमनै दोहोर्‍याएँ ।
‘ल हुन्छ म फोन गरुँला । तिमी राम्रोसँग जाऊ,’ मैले भनेँ ।
‘राम्रोसँग पढ । यहाँजस्तो होइन, अब सिरियस हुनुपर्छ’ भन्दै ऊ पर पुग्यो । म माथितिर उक्लेँ । नम्बर बिर्सिन्छु कि भन्ने चिन्ता थियो, दोहोर्‍याइरहेँ ।
पर पुगेर चिच्यायो, ‘फोन गरे है !’
सुनेर मेरो मन चंगा भयो । घर पुगेर पहिले उसको नम्बर टिपेँ कपीमा । ऊ गैसक्यो भन्ने सम्झेर मन फेरि त्यसै अमिलो भयो ।
भावनाको उफानले नम्बर टिपेकै कपीमा एउटा कविता पनि लेखायो । आफैंले लेखेको कविता पढ्दा आँखाबाट आँसु झर्‍यो । प्रेम कविता पहिलो पटक लेखेँ । उसको नाउँमा कवि पनि भएँ । म आफैं आफ्नै नियन्त्रणमा थिइनँ । कस्तो आवेश थियो त्यो ?
काठमाडौं आइपुगेको एक–दुई महिना भइसकेको थियो । यतिका समय ऊसँग भेटेको त्यही पाँच मिनेट काफी थियो सम्झिन र मुस्कुराउन । बेचैनी बढ्न थाल्यो, ऊसँग एकै पटक बोल्न मात्र पाए पनि हुने । तर बोल्न त आँट चाहिन्थ्यो । पिसिओभित्र छिरेर फोन लगाउथेँ । हातै काँप्थे अनि त्यसै छोडेर हिँड्थेँ । कैयौं पटक आधा नम्बर डायल गरेर छोडेँ । कैयौं पटक नम्बर डायल गरेर काटेँ ।
एक दिन हिम्मत गरेर पूरै रिङ जान दिएँ, फोन उठ्यो । मसिनो आवाजमा डराई–डराई हेलो भनेँ । उताबाट बूढो मान्छेको स्वर आयो । उसलाई बोलाइदिन भनेँ ।
‘को हो ?’
‘को रे ?’ उसको आवाजले मेरो कानै चिरिएलाजस्तो भयो ।
मैले उसको नाम भनेँ ।
‘बेल्का गर । ऊ अहिले खेल्न गाको छ ।’
साँझ कहिले पर्ला जस्तो भयो, दिनभरि । मनमा अनेकथरी कुरा खेलिरहे । म भावनाको रंगीन तालमा डुबिरहेँ । मुटुको धड्कन पनि बढेको बढ्यै भयो । बेलुका साथीलाई लिएर पिसिओ छिरेँ ।
अर्को चोटि फोन गर्ने आँट आएन । साथीलाई फोन डायल गर्न लगाएँ । फोन गयो । उताबाट आइमाईको आवाज आयो । साथीले हेलो भनी र एकैछिनमा फोन राखी ।
मेरो मन चिसो भयो । 
‘डरलाग्दी रैछे बूढी,’ साथीले भनी ।
‘के भनी र ?’
‘के के भनी के के नि !’
म अलमल्ल परेँ ।
‘के भनी र ?’ फेरि सोधेँ ।
‘कस्तो हो र तिम्रो साथी ? बूढीले त ‘कति केटीले फोन गर्च यो केटालाई’ भनी त !’
साथीको कुरा मुटु छेडेर भित्र पस्यो ।

सुमिना घिमिरेको भबिष्य संकटमा !

3:55 AM
•
नायिका सुमिना घिमिरेलाई चलचित्र 'लभ फर एभर' प्रचार टोलीबाट चलचित्र टिमले हटाएको छ।
 
आइतबार झापाको दमकमा चलचित्रको बारेमा जानकारी गराउनका लागि आयोजित पत्रकार सम्मेलनमा नायिका घिमिरलाई प्रचार टिमबाट हटाएको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक शंकर आचार्यले अब चलचित्रको कुनै पनि प्रमोसन तथा प्रचारमा सुमिनालाई सहभागिता नगराउने बताए। 
 
सुमिनाले विभिन्न समयमा चलचित्र यूनिटसँग असामान्य ब्यवहार देखाएको र विभिन्न ब्याक्तिलाई धम्क्याउने जस्ता काम गरेकाले चलचित्रको पोष्टर पम्पलेट सहित प्रचारका समाग्रीबाट हटाइने समेत आचार्यले बताए।
 
आचार्यले भने ,अब सुमिनाको चलचित्र भबिष्य समेत संकटमा परेको छ। असार १४ गते बाट नेपाल भरी प्रदर्शनमा आउने सो चलचित्रले युवाको प्रेममय जिवन अवस्थाको चित्रण गरेको नायक गजित बिष्टले बताए ।

चल्ने भो करिना र इमरानको रोमान्स

8:55 AM
•
नायिका करिना कपुर र किसिङ हिरो इमरान हाश्मी अब एउटै पर्दामा देखिने भएका छन् । धर्म प्रोडक्शन र बालाजी फिल्मस्को व्यानरमा तयार हुन लागेको नयाँ चलचित्रमा यि दुई सँगै देखिन लागेका हुन् ।चलचित्रको नाम भने अहिलेसम्म पक्का गरिएको छैन । धर्म प्रोडक्शन र बालाजी फिल्मस् बलिउडका चर्चित चलचित्र उत्पान गर्ने कम्पनीको रुपमा चिनिन्छन् । चलचित्रलाई नब निर्देशक अक्षय रोयले निर्देशन गर्ने पक्का भैसकेको छ । रोमान्टिक कथावस्तुमा तयार हुन लागेको यो चलचित्रमा नायक इमरान हाश्मी र नायिका करिना कपुर बिच कस्तो रोमान्स चल्ने हो यो भने प्रतिक्षा गर्नैपर्छ ?
 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes