धरानमा कलाकारहरु अलपत्र

‘राष्ट्रिय चलचित्र महोत्सव’को उद्घाटनमा भोको पेटमै भएपनि नाचेका नेपाली सिनेमाका कलाकारले खासै दुखेसो पोखेका थिएनन् । दर्शकलाई भोको पेटमै भएपनि नृत्य देखाउन पाउँदा कलाकारहरु खुशी देखिएका थिए । तर त्यो खुशी लामो समयसम्म टिक्न सकेन । कार्यक्रम नसकिदै आयोजकले ३ वटै गाडी लिएर हिडेपछि अन्तिममा आफ्नो प्रस्तुती दिने कलाकारहरु अलपत्र परेका थिए ।

बेलुकी ७ बजेपश्चात धरानको स्विमिङ पुलमा खानाको व्यवस्था गरिएको थियो । धरान पुगेका १०० भन्दा बढि चलचित्रकर्मी र पत्रकार त्यहाँ खाना खान पुगेका थिए । तर खाना खान लागेका नायिकाहरुलाई आयोजकले तपाइहरुको लागि छुट्टै व्यवस्था छ भन्दै गाडीमा चढाएको थियो ।
गाडीमा चढ्दै गर्दा धेरै नायिकालाई कहाँ र किन लग्न थालियो भन्नै नै पत्तो थिएन । उनीहरु मध्ये कसैलाई टाउको दुखेको थियो त कसैलाई भोक लागिरहेको थियो । कलाकारहरुलाई लाने र लैजाने जिम्मा पाएका प्रकाश सुवेदीले अचानक ‘खाना छोड, गाडीमा चढ’ भन्दै लगेको एक नायिकाले बताइन् ।
स्विमिङ पुलबाट अघि बढेको गाडी कता हुँइकियो कसैलाई पनि पत्तो थिएन । तर अचानक बिच बाटोबाट नायिका रेखा थापा र प्रकाश सुवेदी ओर्लिएका थिए । स्विमिङ पुलबाट खाना नखाई आफू बसेको होटलतर्फ जान लागेका १५ जना निर्माताहरुले गाडी देखेपछि रोक्न भनेका थिए । तर गाडी रोकिएन, अघि बढ्यो ।
एक नायिकाले आफू कतै नजाने, होटलमा लैदिन बारम्बार आग्रह गर्दा पनि अनाकन्टर बाटोमा गाडी कुदाइएको बताइन् । उनीहरुलाई दन्तकाली रोड भन्दा धेरै माथी रहेको ‘पञ्चकन्या रिसोर्ट’मा पुर्‍याइएको थियो ।
पञ्चकन्या रिसोर्टमा इटहरी सैनिक क्याम्पबाट आएका केही कर्नेल र जर्नेलहरुले पार्टी दिएका रहेछन् । यसको संयोजन चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेले गरेका थिए ।
एक चलचित्रकर्मी भन्छन्, ‘पार्टी नै दिने भए किन काठमाण्डौबाट गएका सबै कलाकारलाई दिइएन, केही नायिका र नायकलाई मात्र किन दिइयो त ?’ त्यहाँ नायिकाहरुलाई कर्नेल र जर्नेलसँग परिचय गराइयो । यसपश्चात सुरु भयो मदिरा पार्टी ।
मदिरा पार्टीमा पुगेका नायिका अनु शाह, सुष्मा कार्की, अशिष्मा नकर्मी, सुस्मिता कार्की चाडै नै निस्किएका थिए । मदिरा पार्टीमा सहभागी एक नायिकाले ‘आफूलाई टाउको दुखेर जान्न’ भन्दा पनि सुख नपाएको बताइन् । यस्तै केही नायिकाहरुले आफूहरुलाई सो बीजको रुपमा प्रयोग गरिएको गुनासो पनि गरेका छन् ।
कर्नेलहरुले दिएको पार्टीमा नायक भुवन केसी, राजवल्लभ कोइराला, स्वेता खड्का, झरना थापा, श्रीकृष्ण श्रेष्ठ, निता ढुंगाना, आकाश अधिकारी सुनिल कुमार थापा, गायक शिव परियार पनि सहभागी थिए । नायिका निशा अधिकारी भने केही समय बसेर फर्किएको बताइएको छ । उक्त पार्टीमा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’, नायिकाद्धय रेखा थापा, सुमिना घिमिरे, व्यवस्थापनको जिम्मा लिएका प्रकाश सुवेदी देखिएका थिएनन् । मध्यरात सम्म चलेको उक्त पार्टी पश्चात कलाकारहरु आ आफ्नै होटलमा फर्किएको बताइएको छ ।
खाना खादै गरेका नायिकाहरुलाई मात्र जर्बजस्ती छुट्टै स्थानमा पार्टी छ भन्दै किन लगियो ? के नायिकाहरु सो बिजका लागि मात्र प्रयोग गर्ने पात्र हुन् ? धरानको अग्लो र सुनसान स्थानमा रहेको पञ्चकन्या रिसोर्टमा पार्टी चलिरहदा महोत्सवका लागि गएका निर्माताहरु भने आफैले रकम तिरेर होटलमा खाना खाइरहेका थिए । अत्यन्त अस्तव्यस्त र भद्रगोल तबरले आयोजना भएको चलचित्र बिकास बोर्डको ‘राष्ट्रिय चलचित्र महोत्सव’ नाम दिइएको कार्यक्रम पूर्ण रुपमा असफल भएको टिप्पणी बजारमा चलेको छ ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes