ऋचाको हनिमुन सर्‍यो

 बिहेलगत्तै हिरोइन ऋचा घिमिरेको व्यस्तता बढेको छ। उनी अहिले भुवन केसीको फिल्म 'साथी म तिम्रो'को तयारीमा छिन्। यो फिल्मको सुटिङ बिहीबारदेखि सुरु हुने बताइएको छ। यसका लागि करिब एक महिनाको समय छुट्याएकी छिन् उनले। यो फिल्ममा काम सकिएपछि होम प्रोडक्सनको फिल्म 'तुलसी' सुटिङ गर्ने तयारीमा छिन् उनी।

फिल्मको हिरोमा निखिल उप्रेती अनुबन्धित भइसके पनि अरू कलाकार छानिन बाँकी छ। फिल्ममा 'लिड रोल'मा देखिने कलाकार नै चयन भइनसकेको उनले बताइन्। 'नयाँलाई ब्रेक दिने कि, नयाँ लटबाट छान्ने निश्चित भएको छैन,' उनले भनिन्।




नयाँ लटबाट छानेको खण्डमा निरज बराल र जीवन लुईंटेल मध्य एकलाई लिने ऋचाले जानकारी दिइन्। यसको टुंगो तीन दिनभित्र लाग्ने उनको भनाइ छ। 'टुपी पाल्ने ब्राम्ह्णको क्यारेक्टरमा कसलाई सुहाउँछ हामी विचार गर्दैछौं,' उनले फिल्मको विषयसमेत सुनाइन्,'ब्राम्ह्ण युवा र दलित युवतीबीचको प्रेमकथा नै फिल्मको मुल विषय हो।'



हालै मुम्बईमा गीत रेकर्डिङ गरिएको यो फिल्मको फागुनमा सुटिङ गर्ने तयारी भइरहेको छ। फिल्मको निर्देशन ऋचाकै पति शंकर घिमिरेले गर्दैछन्। यी हिरोइनको व्यस्तता यतिमै सकिंदैन। आफ्नो पतिको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा समेत यिनको सिट सुरक्षित छ। हेटौंडाका फिल्म वितरक नरेन्द्र महर्जनले बनाउन लागेको फिल्ममा ऋचा र मौसमी मल्ल हिरोइनको रुपमा अनुबन्धित भएका छन्।



बिहेपछिको व्यस्तता बढेपछि आफू निकै खुशी भएको उनले बताइन्। 'मलाई बिहे फाप्यो,' हनिमुन मनाउन समेत समय नमिलेको उल्लेख गर्दै उनले नागरिकसँग भनिन्, 'अहिले खुरुखुरु काम गरौं। करिब डेढ महिनामा फिल्म 'वीरताको चिनो'को सबै काम सकिन्छ। त्यसपछि फिल्म रिलिज र हनिमुन दुवै लन्डनमा।' यसअघि उनले हनिमुन मनाउन पतिपत्नी पोखरा जाने बताएकी थिइन्।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes