रेखाको नयाँ अवतार



फिल्मीकुरा,असार ५ ।

बजारमा अहिले नयाँ रेखा थापाको निकै चर्चा चल्न थालेको छ । नझुक्किनुहोला रेखा थापा नामकी नयाँ कुनै नायिका नेपाली चलचित्र क्षेत्रमा आएछिन् कि के हो भनेर ।

कुरा हो उनै चुलबुले शोमेकर नायिका रेखा थापाको । कहिले पत्रकार कुटेर,कहिले नायकहरुसँगको विवाद,कहिले पतिसँगको सम्बन्ध त कहिले राजनीतिक कारण चर्चामा आइरहन खप्पीस नायिका थापाको पछिल्लो चर्चा भने उनको नयाँ लुक र सौन्दर्यको कारण हुन थालेको हो ।

नेपाली चलचित्र क्षेत्रकै हट एण्ड सेक्सी नायिकाको उपमा पाइसकेकी रेखा उमेरले जति जति उकालो लाग्दैछिन् उति नै उनको सौन्दर्यमा पनि निखारपन आउन थालेको देखिन्छ । उनको त्यो सौन्दर्यलाई भर्खरै मात्र बजारमा आएको अँग्रेजी पत्रिका 'वेभ' को जुन अंकले आफ्नो कभर पेजमा प्रयोग गरेको छ ।
अहिलेसम्म प्रकाशित फोटोहरु भन्दा विल्कुलै नयाँ लुकमा खिचिएका ती फोटोहरुमा रेखा साँच्चिकै आकर्षक र सुन्दर देखिएकी छिन् ।

रेखालाई यसरी नयाँ लुकमा प्रस्तुत गर्न पत्रिकाकी सम्पादक पूर्व मिस नेपाल माल्भिका सुब्बा र फेसन डिजाइनरहरु तेञ्जिङ छेतेन,शुभेच्छा वादेल,रसना श्रेष्ठ र मेकअप आर्टिष्ट सकिल कुँवरले निकै मिहिनेत गरेका छन् ।

एकीकृत नेकपा माओवादीमा प्रवेश गरेपछि थापाको चर्चा अरु बढेको छ । पार्टीमा प्रवेश गरिसकेपछि पनि उनी काली नामको चलचित्र बनाउन सक्रिय छिन् । यसै सन्दर्भमा भर्खरै रेखाले दिएको एक अन्तरवार्तामा उनले आफूमाथि हुँदै आएका आलोचनाहरुको यसरी प्रतिवाद गरेकी छन् :
कलाकार राष्ट्रको गहना हुन्छन् । तर तपाई त माओवादीको कार्यकर्ता बन्नुभयो, हामी तपाईलाई कलाकार भनौं कि पार्टीको कार्यकर्ता ?
–म गहनाबाट अब देशको सेवक हुन चाहन्छु । मलाई कुनै पनि पार्टीको कार्यकर्तामात्रै भन्दा पनि तपाईहरु र राष्ट्रको सेवकका रुपमा चिनिदिनुभए हुन्छ । म माओवादीमा प्रवेश गरेको पनि देश र जनताको सेवा गर्नकै लागि हो । समाजको सेवक बन्नका लागि हो ।
Rekha-Thapaके देखेर, र के गर्छु भनेर माओवादीमा प्रवेश गर्नुभयो ? पार्टीमा तपाईको भूमिका के रहन्छ ? पार्टीको नीति नियमको बारेमा कत्तिको स्पष्ट हुनुहुन्छ ?
–पार्टीमा लागिसकेपछि त्यसका नीति नियमहरुको पालना गर्नैपर्छ । कतिपय नीति नियम नयाँ पनि बन्दै जान्छन् । पार्टीमा लागिसकेपछि नबुझेका विषय पनि बुझिन्छ । जहाँसम्म मेरो भूमिकाको प्रश्न छ, मलाई यस्तै भूमिका चाहिन्छ भन्ने आग्रह छैन, राजनीतिमार्फत समाजको सेवा गर्ने मेरो भूमिका रहने छ । बाँकी भूमिका भविश्यले निर्धारण गर्नेछ ।
तपाईले पार्टी प्रवेश गर्दा माओवादी गरीवको पार्टी भन्नुभएको थियो । तर, तपाईका नेताहरु आलिसान महलमा बसिरहेका छन् । गरीव जनताको कुरा सुनिरहेका छैनन् । तपाई यसलाई कसरी लिनुहुन्छ ?
–युद्धका बेला नेताहरुको भूमिका बेग्लै थियो । तर, अहिले सरकारमा जाने र अन्य भूमिका निर्वाह गर्ने क्रममा उहाँहरुले प्रयोग गरेका महलहरु नेताका पेवा होइनन् जस्तो मलाई लाग्छ ।
पहिला छवि ओझालाई प्रयोग गर्नुभयो, अब फेरि माओवादी पार्टीलाई प्रयोग गरेर अगाडि बढ्न थाल्दै हुनुहुन्छ भन्ने तपाईलाई आरोप लाग्ने गरेको छ, के यो साँचो हो ?
हिजोका दिनमा कसले कसलाई प्रयोग गर्यो, त्यो इतिहासले प्रष्ट पार्ने कुरो हो । चेतनशील मान्छेले कसैलाई यस्तो आरोप लगाउन सक्दैन । म कसैलाई प्रयोग गर्ने वा कसैबाट प्रयोग हुने मान्छे होइन । मान्छेले अपमानित गर्नका लागि यस्ता आरोपहरु लगाएका मात्र हुन् । तपाईहरु कोही पनि यस्तो भ्रममा नपर्नुहुन आग्रह गर्छु ।
देशमा बढदो अशान्ति गरीविले गर्दा लाखौ युवाहरु विदेशिएका छन । तपाईको पार्टि प्रवेशले ति युवाहरुलाई स्वदेशमै राख्ने खालको कुनै योजनाहरु छन् ?
–म पार्टीमा नरहँदा पनि र नरहँदा पनि यस विषयमा सोच्ने गरेकी छु । अमेरिका गएर फर्केपछि मैले देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने कुरा गर्दा धेरैले मेरो विरोध गरे । हामीकहाँ राम्रो काम गर्न खोज्दा विरोध गर्ने चलन छ । तर, म विचलित नभई युवाहरुको पक्षमा काम गर्न तयार छु । म आफैं पनि युवा हुँ । त्यसैले युवाहरुले विदेश जानु नपरोस्, रोजगारीका लागि भनेर एकजना पनि नेपालीले एयरपोर्ट टेक्नु नपरोस् । त्यसका कहाँ कहाँ संघर्ष गर्नुपर्ने हो, त्यसका लागि लड्न म तयार छु । बरु यसका लागि मैले पार्टीभित्र र बाहिर कसरी संघर्ष गर्नुपर्छ, सल्लाह र सुझाव दिनुहोला, तपाईहरुसँग हातेमालो गरेर अघि बढ्न म तयार छु । तपाई हामीले मिलेर यो काम गर्नुपर्छ र देशको भलो हुने काम सोच्नुपर्छ । तपाईहरुको माया पाएपछि मैले यसबारे अवश्यै केही गर्न सक्छु भन्ने सोचेकी छु ।
तपाई आफुलाई कतिको सेक्सी ठान्नुहुन्छ ? जति उमेर ढल्कँदैछ, उति सेक्सी देखिन थाल्नुभएको छ, यसको राज के होला ?
–मेरो उमेर कहाँ ढल्केको छ र ? झनै जवानी पो चढ्दैछ ! जहाँसम्म सेक्सी देखिएको भन्ने कुरा छ, मलाई त्यस्ती छु जस्तो लाग्दैन, तपाईहरुलाई लाग्यो होला ।
सेक्सबारे तपाईको धारणा के हो ?
–सेक्सका बारेमा भन्दा पनि म देशका बारेमा सोच्न चाहन्छु । धेरै युवायुवतीले देश छाडेर, विदेशमा गएर काम गरिराख्नुपरेको छ । हाम्रा सबै नेपाली दाजुभाइले आफ्नै देशमा बसेर काम गर्ने र खुशीसाथ जीवन बिताउने वातावरण बनाउनुपर्छ ।
अर्को विवाह गर्ने सोचाइमा हुनुहुन्छ कि ? के सोचाइ बनाउनुभएको छ ? घरबार गर्ने हो भने कस्तोखालको रोज्नुहुन्छ ?
–मैले विवाहबारे केही पनि सोचेकी छैन र अहिले विवाह मेरो कल्पनाभित्र छैन । जहाँसम्म मेरो कस्तोखालको घरबार हुन्छ भन्ने प्रश्न छ, मैले केटाको धन सम्पत्ति हेर्दिँन । मेरो घरबार रिक्साचालक वा सब्जी ब्यापारीसँग पनि हुन सक्छ । वैदेशिक रोजगारीमा गएकाहरुसँग पनि हुन सक्छ । मैले यसबारे अहिल्यै सोचेकी छैन ।
तपाई र छविको सम्बन्ध टुटेको रहेछ, अब तपाईको साथ पाउने भाग्यमानी को होला ?
–विवाह, सम्बन्ध र मृत्यु आफूले चाहेर नहुँदोरहेछ । अब मेरो कोसँग विवाह होला, यो मेरो कल्पना बाहिरको कुरा हो ।
छवि ओझालाई छाडनुको कारण के हो ? धन, उमेर या सेक्स ?
–छविजीलाई मैले छाडेकी हैन, माथिबाटै यस्तो हुन गएको हो । लेखान्तको कुरो हो ।
तपाईको नाम प्रकाश दाहाल र जीवन लुइटेलसँग जोडिन थालेको रहेछ, सत्य के हो ?
–जीवन लुँइटेल र म एउटै गाउँका हौं । उनी मेरी मम्मीलाई मम्मी भन्छन् । हाम्रो परिवारमा उनको आवत-जावत पनि भैरहन्छ । उनी मेरा असाध्यै राम्रा साथी हुन् । उनले पनि चलचित्र क्षेत्रमा १० वर्षभन्दा बढी संघर्ष गरेर यहाँसम्म आएका छन् । उनी विवाहित मानिस हुन् । जहाँसम्म प्रचण्डपुत्रको कुरा छ, काम नभएका मान्छेले फुर्सद कटाउन लगाउने यस्ता उट्पट्याङ आरोपका पछाडि लाग्ने मलाई फुर्सद छैन ।
(मलेसियाबाट प्रकाशित हुने नेपालीखबरका लागि त्यहाँस्थित विभिन्न नेपाली युवाहरुले सोधेका प्रश्न र नायिका थापाले दिएको जवाफमा आधारित)



Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes