रेखाको हिट मन्त्र !

'नाम होस्, बदनाम होस तर, गुमनाम भने नहोस्' । यस्तै मान्यता बोक्छिन् हाम्री चुलबुली नायिका रेखा थापा। तर समयभन्दा चाँडो नाम र चर्चा कमाउन सफल यी नायिकाले यसै कारण उचालिएर आफ्नो धरातल बिर्सिएकोमा भने उनका समकक्षीहरू चिन्ता व्यक्त गर्छन्। रेखालाई अन्य नायिकाको आरोप छ 'रेखालाई कहिले पनि आफ्नो ठान्नुहुन्न, किनकि उनले कुन बेला पछाडिबाट छुरा हानिहाल्छिन्। कुनै पत्तो नै हुँदैन ।'


रेखालाई उनका समकक्षीहरूले लगाएको यो आरोप केही समययता आएर सत्य सावित पनि हुन थालेको छ। रेखासँगै खाने, डुल्ने र सुखदुःखका कुरा गर्नेहरूले आज रेखाकै कुरा काट्न थालेपछि रेखाका कमी–कमजोरीहरू बजारमा छरपस्ट हुन थालेका छन्। कुनैबेला नायिका ऋचा घिमिरे रेखाकी अभिन्न अङ्गजस्तै नजिककी साथी थिइन्। लाग्दथ्यो ऋचा नदेखेमा रेखाको घाँटीबाट भात नै छिर्दैनथ्यो तर अहिले दुवैको बोलचाल बन्द छ भने धेरैपटक आफू नखेलेर आफ्नै फिल्ममा रेखा थापाको सिफारिस गर्ने नायिका झरना थापा र रेखा थापाबीच अहिले पानी बाराबारको अवस्था रहेको छ। नायिकादेखि लिएर नायक र निर्देशकसम्मको सम्बन्धमा क्रमशः दरार आउन थालेपछि रेखा यतिबेला स्थापित नभएर नयाँ–नयाँ ब्यानरहरूतिर मात्र देखिन थालेकी छिन्।

गत हप्ता एउटा सिनेमाको निकै भव्यताका साथ शुभ–साइत सम्पन्न भएको थियो। त्यस समारोहका लागि निमन्त्रणा गरिएकी रेखाको हातमा कार्ड परेपछि रेखाले– 'धत्! यस्तो कार्यक्रममा जाने मान्छे हो म' भनेर कार्ड च्यातेपछि त्यस चलचित्रका निर्देशकको मन कुँडिन पुगेको थियो। 'बरु नआएको भए हुन्थ्यो। कार्ड नै किन च्यात्नुपर्दथ्यो र?' ती निर्देशकले भने।

नायक निखिल उपे्रतीसँग सम्बन्ध बिग्रिएपछि झण्डैझण्डै सिनेमा नपाएर पलायनको अवस्थामा पुग्न लागिसकेकी रेखाले त्यसपछि अर्का नायक विराज भट्टसँग सम्बन्ध सुधारेकी थिइन्। भट्टसँग सम्बन्ध सुधारेपछि केही फिल्महरू हात पार्न लागेकी रेखा थापाको अन्य कुनै पनि नायिकासँग सम्बन्ध सुमधुर हुन नसकेपछि उनी आजभोलि कुनै पनि सार्वजनिक कार्यक्रमतिर देखा पर्दिनन्। यतिसम्म कि उनलाई पहिलोपटक चलचित्र 'हिरो' मार्फत बे्रक दिएका नरेश पौडेल पनि रेखाको बारेमा भन्छन्, 'आफ्नो धरातल र विगत बिर्सनेको कुरै नगरौँ।'

आफ्ना श्रीमान् छवि ओझासँग रेखा धेरै नायिकाको नाम पनि जोड्ने गर्छिन्। रेखाको एकदमै नजिककी साथी रेजिना उपे्रतीको नाम उनले आफ्नै पति छवि ओझासँग जोडेपछि नायिका रेजिना पनि रेखाप्रति निकै आक्रोशित भएकी थिइन्। 'आफू जस्तो, त्यस्तै गलत सोच बोक्छिन् रेखा,' रेजिना भन्छिन्, 'उसको श्रीमानसँग रेखाले मेरो नाम जोडी। आफ्नो बाउ उमेरको मान्छेसँग म किन लाग्नु?' रेजिनाको तर्क छ। लाग्नै छ भने आफूले एक से एक ह्यान्डसम पुरुष पाउने र छवि ओझासँग लाग्नुपर्ने अवस्था नरहेको जवाफ रेजिनाले दिएकी थिइन् रेखालाई। एक समय रेखा र रेजिनाको पारिवारिक सम्बन्ध नै थियो तर केही असझदारीका कारण अहिले यी दुईबीच व्यापक दरार आएको छ। आफ्नै समकक्षी अनि नायक र निर्देशकसम्मको सम्बन्ध विस्तारै बिगार्दै जान थालेकी रेखाको चाँडै बुद्धि फिरोस् र सबैसँग उनको सम्बन्ध सुमधुर होस्। रेखाजीलाई समयमै चेतना भया।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes