काठमाडौं उपत्यकामा आफ्नो फिल्मको पालो आएकाले प्रदर्शन गर्न निर्माताहरु प्रचार–प्रसारमा जुटिरहेका थिए। निर्माता चिरञ्जीवी बस्नेत आफ्नो फिल्म दानबीर शुक्रबारबाट रिलिज गर्ने तयारीका साथ प्रचार प्रसारमा जुटेका थिए। आफ्नो फिल्म इलाकाको पालो आएकाले शुक्रबारबाटै प्रदर्शनका लागि अर्का निर्माता एवं नायक पवन बस्नेतले त काठमाडौंका विभिन्न ठाउँमा पोष्टरसमेत टासिसकेका थिए। नेपाल चलचित्र निर्माता संघको नियमअनुसार काठमाडौंको गँगा हल समूहका एकदर्जन हलबाट चलचित्र इलाका शुक्रबारदेखि रिलिज हुनुपर्ने थियो। विश्वज्योतिलगायतका एकदर्जन हलबाट पनि दानबीर रिलिज हुनु पर्ने थियो। तर यी दुबै हलबाट निर्माता गोविन्द शाहीले आफ्नो फिल्म कहाँ छौ कहाँको न्यूनतम व्यापार घट्न दिएनन्।
गत आइतबारदेखि बुधबारसम्म आइपुग्दा कहाँ छौ कहाँले हलको मापदण्डभन्दा अत्यन्त थोरै व्यापार गरे पछि सो चलचित्रलाई शुक्रबारबाट उतार्ने विश्वज्योति समूह र गंगा समूहले निर्णय गरेको थियो। गंगा समूहले त शुक्रबार इलाका रिलिज गर्ने निर्णयसहित निर्मात पवन बस्नेतलाई बुधबार नै सो फिल्मको पोष्टर शहरभर टाँस्न लगाएका थिए। यता विश्वज्योति समूहका विभिन्न हलहरुमा पनि चिरञ्जिवी बस्नेतले आफ्नो फिल्म लगाउने प्रिन्टसमेत हलमा पठाइसकेका थिए।
तर निर्माता गोविन्द शाहीले आफ्नो यी दुवै हलमा दर्शकको अभाव देखेपछि आफैंले हलको टिकट किने। बिहीबार बसका बस मानिस हलसम्म ल्याए र दुवै हलमा दर्शकको भीड बनाए। बुधबारसम्म दर्शक नभएको हलमा बिहीबार दर्शकको घुँइचो लागेपछि सोही दिनको व्यापारको आधारमा त्यो फिल्मलाई अरु एक साता चलाउन यी दुई हलका मालिक बाध्य भए।
शुक्रबारबाट फिल्म लगाउने भएपछि पोस्टर र प्रचार प्रसारमा आफुले तीन दिनमा करिब ८० हजार खर्च गरेको इलाकाका निर्माता पवन बस्नेतले बताए। तर उनको पोस्टरको खर्च भने गँगा हलका मालिक मदनमान बज्राचार्यले व्यहोर्ने भएपछि इलाकाको प्रदर्शन एक साता पछि सरेको छ, जसमा विराज भट्ट, दिलिप रायमाझी, रेखा थापा, पवन बस्नेतसहितका कलाकार छन्। यस्तै दानबीरको प्रदर्शन भने दुई सातालाई पछि सरेको छ। तर यसको फाईदा उठाउँदै राजधानीका बाँकी हलमा शुक्रबारबाट शोभित बस्नेतले आफ्नो फिल्म जंगबाजको सुटुक्क प्रदर्शन गरेका छन्। अरु झगडामा लागेकाले आफूले फिल्म प्रदर्शन गरेको उनले बताए। शायद भाइ फुटे त दाइ कुटे भनेको यसैलाई पो हो कि ?
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment