अचेल नायिका रेजिना उप्रेतीको खुट्ट खुसीले भुईमा छैनन् । आठ वर्षको फिल्मी करिअरमा पहिलोचोटि सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड पाउँदा उनी त्यसरी खुसीले पुलकित भएकी हुन्। 'अवार्ड पाएपछि मलाई लाग्यो यत्रो वर्ष मैले गरेको काम र प्रतिभाको सम्मान बल्ल भएको छ । म आफूलाई भाग्यमानी ठानिरहेकी छु ।'-उनले भनिन् ।
चलचित्र प्राविधिक संघले बुधबार राजधानीमा आयोजना गरेको फिल्म अवार्डमा सन्देश फिल्मबाट सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी रेजिनाले अवार्डले आफूमा उत्साह थपेको बताइन् । 'अबको मेरो लक्ष्य सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नु हो,' अवार्ड वितरण समारोहमै बोलेका शब्द दोहोर्याउँदै उनले भनिन्, 'मैले चिनोमा निकै मेहनत गरेकी छु । भूमिका पनि निकै बुलन्द छ । आगामी फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाउने फिल्म हो त्यो ।' उनले निर्माणाधीन राजमा आफूले निर्वाह गर्न लागेको भूमिकाको बारेमा बोल्दै थपिन्, 'राजमा दोहोरो भूमिका गर्दै छु । त्यसमा पनि दुईवटा बिल्कुलै विपरीत चरित्रमा अभिनय गरेको छु । राजले पनि मेरो अभिनय क्षमता स्पष्ट पार्नेछ ।'
पहिले भएको प्रतियोगितामा पटक-पटक मनोनयनमा पर्ने गरे पनि अवार्ड भने कहिल्यै जितेकी थिइनन् उनले । यसपटक पनि उनलाई त्यस्तै लागेको थियो रे, मलाई अवार्ड दिन्नन् । 'म फ्रस्टेड भइसकेकी थिएँ,' उनले भनिन्, 'जतिसुकै राम्रो काम गरे पनि अवार्ड नजित्दा मनोरोगी बन्ने हालतमा पुगेकी थिएँ ।' अवार्ड पाएपछि मेहनत गर्ने जाँगर र हौसला बढेको उनले बताइन् । 'अब म आफूलाई अझ पर्फेक्ट बनाउनतिर लाग्छु,' काम नभएको बेला दिनभरि घरमै सुत्ने आफ्नो खराब बानी पनि त्याग्ने घोषणा गर्दै उनले भनिन्, 'बरु त्यो समयमा डान्स प्राक्टिस गर्छु । पर्फमिङ आर्टसम्बन्धी किताब पढ्छु । नयाँ-नयाँ फिल्म हेर्छु ।' उनले अझ थपिन्, 'फिगर मेन्टन गर्छु । फाइट प्राक्टिस गर्छु ।' अवार्ड पाएको अर्को दिनदेखि आफू बिहानै उठेर जगिङ गर्न सुरु गरेको बताउँदै उनले भनिन्, 'सर्वोत्कृष्ट बन्नका लागि जस्तोसुकै मेहनत गर्न पनि पछि पर्दिनँ ।'
सहअभिनेत्रीको अवार्ड हात पार्दा त यतिको खुसी छिन् भने सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा उनको हालत के होला ? यो कुराले रेजिनाका फ्यानहरुको टाउको रिंगिएको छ ।
Post a Comment